प्रिय् काली !

Spread the love

Love letter stroke icon - Transparent PNG & SVG vector file

लेखक: दीपकिरण खड्का
हाल एमबिबिएस अध्ययनरत, च्यामुसी, चीन

प्रिय् काली !
न्यानो माया अनि धेरै सम्झना !

खोइ के भनुँ, तिम्रो मस्तिष्कको कलम अनि मनको मसीले लेखेको पत्र पढेर म नि:शब्द भएँ, शून्यमा शून्य बिलाए सरी, तिम्रो भावसागरमा डुबेछु। मैले त तिम्रो यति असिम प्रेमको कल्पना सायदै गरेथेँ, हुन त उतीबेला हाम्ले प्रीति गाँस्दा भनेका थ्यौँ, यो जुनीमा आफ्नो हुन पाइएन भने कि के भो त, हाम्रो पवित्र प्रेम त जुग जुग बाँच्नेछन्। मैले तिम्रो पत्रको आशा गरिन भनेर प्रेममा मरेको नभन्नु ! यो लोकमा तिम्रा प्रेमायामको गहिराईमा कुनै कमी पाएको त छैन। प्रिय्, मैले पनि कहाँ बिर्से हुँला र? ती हाँसो, ठट्टासँगै एकअर्कासँग जिस्किएका क्षणहरु ! हामीले छाँटेका दर्शन, मैले दिएको धाराप्रवाह प्रवचनमा तिमीले दिएको तप, अनि तिम्रो सुरिलो स्वरले कवितामा थपेको मधुरता मेरा मस्तिष्कमा पाएका तरङ्ग मैले बिर्सुलाँ र? ती दिनका संवादहरु सम्झ त, कति जिवन्त थिए, ती बोलाईमा कस्तो निश्चल प्रेमका सागर उर्लीएका थिए !

सम्झना छ हामीले गरेको त्यो पदयात्रा? तिम्बुङपोखरी सम्म पुग्दा हामीले सङ्गालेका अनुभूति बिर्सेको छैनौ है? अझै बेला बेला तिमीसँगै गरेका पदयात्राको स्मृतिमा डुबुल्की मार्दै शुन्यमा डुब्नुको आनन्द बेग्लै छ, मनौँ म चाहन्न म फेरि तौरिएर उत्रुँ।केइ हिमाली पदयात्रा त्यसअघि पनि मेरा साथीभाइहरुसँग पनि गरिसकेको थिएँ, ती यात्रामा कल्पेका कुराहरु तिमीसँग यात्रा गर्दाको वर्णन यी शब्दले कसरी गरुँ? लामो हिँडाई तर कष्टकर यात्रामा तिमीले गाह्रो भन्ने शब्दको उच्चारण पनि गरिनौँ, मैले यात्रा प्रारम्भ गर्नु अघि प्राथर्ना गरेको थेँ, `हे ईश्वर हाम्रो यो पहिलो यात्रा जिवन्त बनाइदेउ, खाली माग्यौ नभन्नु है, मैले उसँगको यात्राकै आधारले सम्झना बुन्नुछ..!´ आखिर ती यात्रामा तिमी बस्दा मैले हातमा हात दिएर तिमीलाई ती ढुङ्गे सिँढीहरु बाट उठाउँदा खोइ जीउ कसरी सिरिङ्ग हुन पुग्दा तिमीले त्यसलाई गुजबम्प भन्न पुगेको थ्यौ। हुन त मेरो मन र तिम्रो मनमा खेलेका असंख्य कुराहरुले एकसाथ सहमति जनाएर पो तरङ्गको घन्टी दिए?

त्यो रात हामी सबैभन्दा अग्लो उचाईंमा थियौँ नि याद छ है, रातमा हामीले च्या’एको आकाशको शुन्यतामा हामी बिलिन भएथ्यौँ केही क्षण, हिमाली चिसो सिरोटेले हान्दा मनमा एकखाले उर्जा आइपुग्थ्यो। हामीलाई मनमा के लाग्यो कुन्नी, हामीले बाहिर आगो ताप्यौँ। ओहो त्यो चिसो र तातोको मिलन क्या गजबको थियो है, हाम्रो जीवन जस्तै, एकैसाथ दुई कुराको अनुभूति नहुने ! चारैतिर अन्धकार रात, शान्त टाकुरोमा हामी दुई, भित्र चुल्होमा शेर्पीनि आन्टीले पकाएको त्यो मीठो चौंरीगाइको दुधको बासना, हामी दुइका मनमा खेलेका कुराहरु बाहिर पोखिएका क्षण, मानौं जीवन यात्राको त्यो रात हामी मानिस भन्दा निक्कै माथी तौरिएका थियौँ, हामीले गरेका कुरा कुनै दर्शन र साहित्य भन्दा कम थिएन, हाम्रा प्रेमील संवाद मुनामदनको प्रेम भन्दा कम भएन, मानौं त्यो रात हामी एकैलहरमा उभिएका हिमाली शृङ्खला बनेछौँ, शान्त, अटल अनि सौम्य, शून्यमा बिलाउने शून्य जस्तै। हामी दुबै एक मन भएको रात ! अब त्यस्तै यात्रा सँगै यो जुनी त उस्तै रह्यो प्रिय् ! सम्झनामा भन्दा ती क्षण हामीसँग कहाँ नै रहलान् र? धन्न त्यो यात्राले गति पायो र पो मान्छेहरूले भन्ने, `सत्यम्, शिवम्, सुन्दरम्´ त्यो अलौकिक परमानन्दमा लिन भयौँ..।

तिम्ले भनेजस्तै म रिसाएको पनि होइन काली ! त्यो मिठो नाम बोलाउँदा मैले एउटा जिवन्त आत्मीयता भेटेको छु। जीवन फुलै फुलको थुङ्गो मात्रै नि होइन नि हगी, तिमी नबुझ्ने पनि त होइनौं, नबुझे नबुझे जस्तै गर्नु तिम्रो बानी जो थियो नै, रहला नै। तिम्रो रिसमा मैले हाँसी, हाँसी जिस्काइदिँदा तिम्रो अनुहारमा देखिने त्यो रिसको राँको मलाई त्यसै त्यसै मन पर्थ्यो, त्यस्तो रिस जुन रिसमा ईख, द्वेस र रागको कुनै छिटा पनि मैले कहिले अनुभूति गरिँन। हुन त हामीमध्ये कोहि एक कम बोल्ने हुन्थ्यौँ वा, मेरो भनाईको भाषा तिमीले नबुझ्ने वा अझै तिम्रो भनाईको तात्पर्य मैले बुझ्दैनथेँ भने त हाम्रा यी सारा लोलीमा लोली मिलाएर फकाएका क्षण, हासोँमा मिसाएर दिइने तर्कयुक्त विचारहरुको अस्तित्व नै हुन्नथ्यो होला।

म तिमीले भनेजस्तै धेरै ज्ञानी थिएँ, थिइन त्यो सदा सापेक्षित कुरो रह्यो। तिम्रो लागि निरपेक्ष ज्ञानी हुनु स्वाभाविक कुरो हो नि होइन र, भलै सबैको लागि ज्ञानी हुनु नहुने सदा निरपेक्ष भन्दा टाढाको कुरो हो, कसैको मुल्यांकनमा मापन हुने कुरो। लामो सम्बन्धमा तिमीले मलाई चिन्दाको क्षणमा मापन कैले झुट्टो हुन्न नि? आखिर तिमी पनि त उत्तिकै ज्ञानी भएर न मलाई पनि ज्ञानीको त्यो सुचीमा राख्यौं।

हो प्रिय् जसरी तिमीलाई तिम्रा बाबाले अप्सराका कथाहरुले कल्पनाको डोबहरु भरेका थिए, त्यसैगरी मलाई अँगेनाका वरिपरि बसेर बाआमैले स्वर्ग नर्क भनेर सुनाएका अनेकौं राजकुमार र परीका कुराहरु कल्पनामा पनि घुम्छन्। तर त्यो मर्त्यलोकबाट कल्पिएको सपना र यताको यथार्थ बिपनीमा कुनै तादम्यता पाइन मैले, बरु अझै कट्मेरो छ। मनै त हो भन्दैमा यो सबैसँग बाँडिन्न रहेछ। भाव उर्लन्छन् भ,ने शान्त पनि हुन्छन्, सबै उर्लेका भावहरु शान्त हुन सहारा खोज्दैनन्। सुनामीमा उर्लने भाव होइनन् जो शान्त हुन सहारा खोज्छन्, म तिमीले चिन्नु भन्दा अगाडीकै सागर हुँ जो सदा आफै उर्लेका छाललाई आफैमा निस्तेज गर्न खप्पिस थियो, जुन तिमीले पनि देखेकौ छौ, र यहि जुग जुग रहनेछ प्रिय् काली! सायद तिमी छँदा तिम्रो सहारा खोजे हुँला, ऐले त म मेरै सहारमा लिन् छु। मेरो नियतमा शङ्का नगर्नु प्रिय्, तिम्रो रूप र विद्वतामा लठ्ठिएको अणु हुँ, वासनामा भुलेको मानिस होइन म।

प्रिय् मेरो विगत सुखद रहेनन् ! दु:खदका ती भागैमा तिमीसँग लामो समय बितानु नपाउनु पनि थियो। मलाई प्रेमको सुरुवाती बिन्दू के थियो भनेर पनि थाहा छैन, तिमीले प्रवेश पाएको क्षणले प्रेमको हाँगा लच्किएलान् भन्नेमा त मनमा भाव नै थिएन, तर कर्मको खेलाईले हामीलाई एउटा सुन्दर प्रेमील जोडि त् बनाइदियो एउटा अधुरो धर्को जस्तै, अन्त्य नदेखिएको! थाहा थियो प्रेम मर्दैन भनेर, प्रेम अझ अजर भएको छ नै रूप सर्वस्व हुन्थे भने हामी प्रेममा के लिन हुनथ्यौँ होला र जति हामी वासनाले सताइन्थ्यौँ होइन र? प्रेम र वासना बारे ती दिनमा हामीले भोगेका, गफिएका नि ताजै छैनन् र?

प्रिय् काली प्रेम साच्चै प्राप्ति मात्रै पनि होइन रहेछ, खुशी खोज्नु मात्रै पनि होइन रहेछ, प्रेम त एकाअर्काको त्याग अनि समर्पणले पनि जिवन्त बन्दोरहेछ। आज तिमी त्यो लोकबाट, म अनन्त यात्री बन्दा पनि तिम्रो पवित्र मनको मसिले कोरिएको सन्देश पाएको छु। प्रेममा प्राप्ति खोजिन्थ्यो भने तिमीले मलाई यत्तिका दिनसम्म `समयले सबै घाउ पुर्छ´ भन्दै सम्हालिसक्थ्यौ होला, तर प्रेम त्यागले जो बनेछ, र हाम्रो कर्मले जुनी जुनी मोक्ष नपाउञ्जेल स्मरण गराउनेछ। सायद यो पवित्र प्रेमको शक्ति हो कि काली?

त्यो प्रिय् नाम काली भनेर मैले बोलाउँदाको पहिलो क्षण सम्झेकी छौ? तिम्रो अप्ठ्यारो नामले मलाई बोलाउँदा कति गाह्रो भएको थियो, मैले नाम खोज्दा कैले पाइन। उसै पनि तिम्रो नाम आफैले जुराउने रहर नै जागेन। फुली थियो बहिनीको, झुम्कि अर्कैले राख्दिसकेछ अनि सोचें त्यो प्रियत्मालाई बोलाउने त्यो मीठो नाम के होला, झट्ट मस्तिष्कमा आइपुग्छ म्याउ जुन नाम लिँदा, त्यो कालो बिरालो पालेको याद आउँछ हजुरामाले। सबैले कालो बिरालोले बाटो काटे साइत बिग्रीन्छ भन्थे, तर हजुरामाले माया गरेर काली भन्दाको त्यो प्यारो नाम  मेरो मस्तिष्कमा ठोक्किएको क्षण सम्झन्छौ नि है। अनि तिमीले घुर्किएर सोधेकि थ्यौ नि, `काली नै किन, गोरी किन नभन्या, के म त्यो बिराली हो र?´ अनि मेरो त्यो सानो उत्तर, `नाममा के छ र प्रिय्, गुलाफलाई गु भन्दैमा उसको बास्नामा कहिले कमी आउँछ र?´ यो उत्तरले तिमीमा ल्याएको लज्जायुक्त हाँसो अनि मौन समर्थन, सायद तिमीले पछि सम्मै सम्झ्यौ कि?

प्रिय् काली मेरो ठेगाना अरु कहाँ होला र यहि अनन्त ब्रह्माण्डको कुनै कुनो त हो। माया नमारे प्रिय् ! यो जुनीमा सबै माया दिन सकिन, अर्को जुनीमा तिम्रै हुने वाचा ! लेखिएको टरेर नै छाड्छ भन्थे, सायद यहि भयो प्रिय् ! सागरको गहिराई जस्तो असिम अनि क्षितिज जस्तै विशाल परिधीको ?प्रेम सदा फैलिरहनेछ प्रिय् काली, सम्हाली राखे! कसैकि भएछौ भने पनि यो श्रद्धा र सद्भावको प्रेमलाई सानो नसम्झनु है।

उही तिम्रो प्रिय्
ब्रह्माण्डको कुनै कुनोबाट

ट्विटर: @KhadkaKiranDeep

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.